काठमाडौं । आइतबारबाट लामो दूरीको सवारीका लागि दशैंका अग्रिम टिकट काट्न सुरु भएको छ । कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेललगयतका स्थानमा अग्रिम बुकिङ सुरु भएको छ । तर, कुनै पनि ठाउँमा व्यवस्थित टिकट काउन्टरको व्यवस्था गरिएको छैन ।
दसैंमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको चाप भएकाले आजैदेखि टिकट खुला गरिएको यातायात व्यवसायीले बताएका छन् ।
सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीडभाड बढेको छ ।
लामो समयदेखिको विवादपछि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गरेका हुन् । यात्रीहरुलाई काउन्टरमै टिकट लिन यातायात व्यवस्था विभागले आग्रहसमेत गरेको छ ।
यसपल्ट काठमाडौं उपत्यकाबाट ३० देखि ३५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।