काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। सिंगापुरमा स्वास्थ्यउपचार गराई रहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गर्नु भएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रकृया सुरु गरिएको उहाका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ट्विटरमा एक सन्देश जारी गर्दै जानकारी दिनु भएको हो । प्रधानमन्त्री ओलीलाई पहिलो पटक गत शुक्रबार ‘प्लाज्मा फेरेसिस’ गरिएको छ । यो उपचार प्रकृया अरू केही पटक गरिनेछ।
प्रधानमन्त्रीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न ‘प्लाज्मा फेरेसिस’ उपचार पद्दति अपनाइन्छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।