काठमाडौँ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेनाको जनशक्तिको सङ्ख्या मुलुकको आवश्यकताको उपज रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “विगतको द्वन्द्वका बेला सेनाको सङ्ख्या बढेको हो, यसलाई कुनै डाउन साइज गर्ने नीति छैन, भएको सङ्ख्यालाई कसरी उपयोग गर्ने भन्ने सोच राखिनुपर्छ ।” राष्ट्रको सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले विशेष प्रकारको जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले सेनाको जवानलाई माथिल्लो तहका सेनाका घरमा काम गर्ने कर्मचारीका रुपमा नराखिएको र त्यस्तो कमजोरी कही देखिए सुधार गरेर लैजाने स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेना शान्ति सेना (मिसन) मा खटाउँदा १५ प्रतिशत महिला सैनिक खटाउने र ज्येष्ठताका आधारमा शान्ति सेनामा पठाउने गरेको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानको समावेशीकरणको अभ्यासअनुरुप नेपाली सेना भर्नादेखि छनोटसम्म सबैलाई समावेशीकरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । संयुक्त राष्ट्रको आह्वानमा विगत ६० वर्षदेखि नेपाली सेना विश्वमा नेपालको छवि उच्च राख्न सफल भएको छ । शान्ति सेनाको पठाउने मुलुकको स्थानमा नेपाल पाँचौँ रहेको छ ।
रक्षामन्त्री पोखरेलले नेपाली सेनामा भर्ना गर्नका लागि सबै भाषाभाषी र जातजातिका लागि उचित स्थान दिएको र त्यसमा दुर्गम क्षेत्रका मानिसलाई नेपाली सेनामा प्रवेश गर्न प्रोत्साहन गरिने सरकारको नीति रहेको बताउनुभयो ।




















