बागलुङ, पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो ।
सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए ।
दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको सङ्ख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । “मुख्य याममा दैनिक ३०० सम्म भारतीय पर्यटक मुस्ताङ छिर्छन्”, कार्यालयका पर्यटन सहायक शिव पुर्जाले भन्नुभयो । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।
मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।
पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ । भूकम्प गएको वर्ष सन् २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री झन् बढेका हुन्”, मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण सुवेदीले भन्नुभयो । गत वर्ष वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गर्नुभएको थियो ।
मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्र मानिन्छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा ९छुमिङ ग्यात्सा० अर्थात् सय पानीका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिर शालिग्राम भगवानका कारण पनि प्रसिद्ध छ ।
मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारको लागि तिब्बत गएको हुँदा मुक्तिनाथ बौद्धको पनि तीर्थस्थलका रुपमा प्रसिद्ध छ ।
वर्षेनी असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा मुक्तिनाथमा पर्यटक र तीर्थयात्रीको घुइँचो लाग्छ । अन्य सयममा भने पर्यटक न्यून देखिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउँछ ।
संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथ बढी चर्चित छ । मुस्ताङ र मनाङ जोड्ने थोरङ्ला भञ्ज्याङ पार गर्ने पर्यटक पनि मुक्तिनाथ भएर आउजाउ गर्छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सडक र अन्य सुविधाले पर्यटक बढेको बताउनुभयो । “मुक्तिनाथको विकासमा अझ धेरै गर्न बाँकी छ” उहाँले भन्नुभयो, “यसका लागि राज्यकै ध्यान जानुपर्छ ।”
मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ । रासस