काठमाडौं। कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्।
५६ वर्षीय कामिरिताले आइतबार बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।
‘एभरेष्ट म्यान’को उपनामले परिचित कामिरिता संसारमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। सफल आरोहणपछि उनी आफ्नो टोलीसहित आधार शिविरतर्फ फर्किरहेका छन्।
सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमार्फत् “३२औँ सफल आरोहणपछि कामिरिता र उनको टोली आधार शिविरतर्फ सुरक्षित रूपमा ओर्लिने क्रममा रहेको” उल्लेख गर्दै काठमाडौंमा उनको भव्य स्वागतको तयारी भइरहेको जनाएको छ।
सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा सुरु गरेका कामिरिताले तीन दशकभन्दा बढी अवधिमा पर्वतारोहण क्षेत्रमा अद्वितीय सफलता हासिल गरेका छन्। उनलाई नेपालको राष्ट्रिय गौरवका साथै विश्व पर्वतारोहण समुदायको प्रेरणादायी प्रतीकका रूपमा हेरिन्छ।
लाक्पा शेर्पाले पनि कायम गरिन् नयाँ विश्व कीर्तिमान

‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्दै महिलातर्फ सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार लाक्पाले आइतबार बिहान ९ः३० बजे सफलतापूर्वक शिखर चुमेकी हुन् ।
सन् १९७३ मा संखुवासभामा जन्मिएकी लाक्पा शेर्पाले नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन् ।




















