काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपियाँ रकम फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका सचिवालयले जनाएको छ ।
पाँच लाख रुपियाँभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये पाँच लाख रुपियाँभन्दा बढी बचत गर्ने १८ हजार रहेका समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले दुई करोड रुपियाँभन्दा बढी ऋण फिर्ता गरेका छन् । ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ । रासस




















