काठमाडौं । सांसद हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारका भवनमध्ये एउटा भवन श्रमदानमार्फत निर्माण गर्न अनुमति दिन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सिंहदरबारभित्रको एउटा भवन निर्माण गर्ने जिम्मा आफ्नो पार्टीलाई दिन आग्रह गरेका हुन् ।
“विगतमा जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्, हामी श्रमदान गरेर बनाउनेछौँ,” उनले संसद्मा भने ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा बोल्दै साम्पाङले सुनसरीसहित विभिन्न जिल्लाका विकास निर्माण योजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन् ।




















