काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।
स्कटल्यान्डले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले तेस्रो विकेटका लागि १०४ रनको शतकीय साझेदारी बनाउँदै नेपाललाई जित नजिक पुर्याएका थिए।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि आसिफ र कुशलले ५८ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा आसिफ शेख २९ रनमा रनआउट भए। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेल २८ रनमा ब्रान्डन म्याकमुलेनको बलमा एलबीडब्ल्यू आउट भए।
तेस्रो विकेटको रुपमा इशान पाण्डे पेभेलियन फर्किए। उनले ५५ रनको अर्धशतकीय पारी खेले। इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। चौथो विकेटको रुपमा दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच भए। आरिफ शेख ८ रनमा अविजित रहे।
स्कटल्यान्डका लागि बलिङ तर्फ मार्क वाटले सर्वाधिक २ विकेट लिए। ब्रान्डन म्याकमुलेनले १ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको स्कटल्यान्डका लागि वान डाउन ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। ओपनर ब्याटर जर्ज मुन्से र ब्रान्डनले दोस्रो विकेटको लागि ५३ रनको साझेदारी बनाएका थिए। मुन्सेले २१ रन बनाए। कप्तान रिची बेरिङ्टनले १२ रन बनाए। मार्क वाटले २० रन बनाए। माइकल इङ्लिस ५१ रनमा क्याच भए। उनले ७२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि आज ७ विकेट स्पिनरको नाममा रह्यो। बायाँ हाते स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिएका हुन्। अर्का स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा स्कटल्यान्डसँग डकवर्थ लुइस ९डीएल० पद्धतिमा २ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो। यो जितसँगै नेपाल लिग २ को तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। नेट रनरेटमा नामिबियालाई पछि पार्दै नेपाल २२ अंकसहित पाँचौं स्थानमा उक्लिएको हो।



















