नेपालगञ्ज, बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।
भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ ।
यहाँको माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको तथ्याङ्कमा उल्लेख छ । यस वर्षको नौ महीनाको अवधिमा करीब ४०० भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ ।
केही समय अघि मात्र दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ ।
राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाँउगाँउमा सक्रिय रहेको उहाँको भनाइ छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाउँदै आएको छ ।
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
यहाँ कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । कुपोषित बालबालिकाको उपचारका लागि यहाँ स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सुहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो ।
केन्द्रमा भर्ना गरेकामध्ये २०५ कुपोषित बालबालिकाले बीचमै औषधि छाडेको पाइएको छ । जसका कारण कुपोषित बालबालिका जोखिममा परेका हुन् । उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताउनुभयो । सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।
–नीरज गौतम