काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन् ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले उक्त उपलब्धि हासिल गरेका हुन् ।
यसअघि यो रेकर्ड मिचेल स्टार्सको नाममा थियो । उनले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्ध ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।
सन्दीपले भने ७३ ओडीआई खेलको ७१ इनिङ्समै १५० विकेट पूरा गर्दै स्टार्कको कीर्तिमान तोडेका हुन् ।
स्कटल्यान्डविरुद्ध व्यक्तिगत दोस्रो विकेट लिँदै उनले १५० विकेटको आँकडा पूरा गरेका थिए । उनले १२औँ ओभरको तेस्रो बलमा जर्ज मुन्सेलाई आउट गरेका थिए भने २०औँ ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेद्वारा क्याच आउट गराउँदै ऐतिहासिक उपलब्धि हासिल गरे ।
सन्दीप लामिछाने को ओडीआई क्रिकेटमा उत्कृष्ट बलिङ प्रदर्शन सन् २०२१ मा लिग टुमा पीएनजी विरुद्ध ११ रन खर्चेर ६ विकेट लिनु हो ।
एकदिवसीय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ फिगर सन् २०२१ को लिग टुमा पीएनजीविरुद्ध
एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने रेकर्ड पनि सन्दीपकै नाममा छ । उनले ४२ खेलमै १०० विकेट पूरा गरेका थिए । साथै लगातार तीन ओडीआई खेलमा ४ विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ ।




















