काठमाडौं । सर्वोच्च अदालतको नयाँ प्रस्तावित प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेपछि शर्माविरुद्ध विभिन्न उजुरी दर्ता भएका हुन्। संवैधानिक परिषद्को बहुमतले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनुवाइ समितिले मंगलबार बिहान उजुरीमाथि छलफल गर्न बैठक बोलाएको छ। समितिको सभापति बोधनारायण श्रेष्ठ छन्।
समितिले उजुरी खोल्नेबित्तिकै उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको जनाएको छ। समितिका एक सदस्यका अनुसार मंगलबार बिहान ९स्४५ बजे बस्ने बैठकमा उजुरीहरूको प्रकृति अध्ययन गरिनेछ र आवश्यकताअनुसार सोही दिन उजुरीकर्तासँग छलफल गरिनेछ।
समितिले मंगलबार दिउँसो १ बजेसम्म उजुरीकर्तालाई छलफलका लागि बोलाउने तयारी गरेको बताइएको छ। उजुरीकर्तासँगको छलफल सकिएपछि त्यसका आधारमा सुनुवाइ प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ।
समितिका सदस्यका अनुसार उजुरीको अध्ययन र छलफलपछि सम्भवतः पर्सिसम्म शर्माको संसदीय सुनुवाइ गरिनेछ।
डा. मनोजकुमार शर्मा २०७६ साल वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो। त्यतिबेला पनि संसदीय सुनुवाइका क्रममा सांसदहरूले सर्वोच्च अदालतमा गएपछि गर्ने कार्ययोजनाबारे स्पष्ट धारणा प्रस्तुत गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए ।



















