काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हेलिकप्टरमा सवार सबैको निधन भएको आशङ्का गरिएको तर त्यहाँ पुगेका सुरक्षाकर्मीले शव चिह्न नसकेको बुझिएको छ ।
मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।