चितवन, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजङ्ग माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिकै आधारमा नेपालमा धेरै ठूलठूला परिवर्तन भएको छ, मुलुकको विकास र समृद्धिका लागि पनि राष्ट्रिय सहमति आवश्यक छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहुनभएका अध्यक्ष दाहालले राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि सबै दल एक हुनुपर्ने बताउँदै हामी सबैको सहमतिमा आएको संविधान र शान्ति प्रक्रियालाई पूर्णता दिन पनि राष्ट्रिय सहमतिको आवश्यकता छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “अब विकास निर्माणमा आपसमा लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाउने संकल्पमा पनि हाम्रो राष्ट्रिय सहमति आवश्यक छ, यसका लागि म र हाम्रो पार्टी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससँग लगातार संवादमा छौँ ।”
अध्यक्ष दाहालले राष्ट्रिय सहमतिबाट नै नेपालको संविधान बनाइएको छ, यसलाई परिमार्जन गरी विकास गर्दै लैजाने जिम्मा पनि राजनीतिक नेतृत्वकै छ भन्दै हामीले बनाएको संविधान साँचिकै मौलिक छ, यसलाई सफल पार्ने दायित्व पनि निर्माण गर्नेहरुकै हो बताउनुभयो ।
सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी आन्दोलनबीचमा आफूले हस्ताक्षर गरेर शुरु भएको शान्ति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले अहिले शान्ति प्रक्रिया अन्तिम दौडमा रहेको र यसका लागि राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलसँग बैठक राखी राख्नुभएको बताउनुभयो ।
अध्यक्ष दाहालले अबको दशक विकासको दशक रहेको बताउँदै यो दशकमा चितवन र भरतपुर महानगरपालिकालाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राष्ट्रियसभा सदस्य पार्वती रावल, प्रदेशसभा सदस्य बलराम पौडेल, भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका पूर्वसञ्चालक समिति अध्यक्ष मेखबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक मैतसिंह तामाङलगायतले विद्यालयको विकास र वर्तमान शिक्षा प्रणालीका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस