काठमाडौं , नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ ।
मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। अनियमितता छानबिनका लागि गठित लेखा समितिअन्तर्गतको उपसमितिले मंगलबार राति अबेरसम्म बसेको बैठकबाट उक्त निष्कर्ष निकालेको हो।
त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ। दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ।