काठमाडौं,७० दिन हुँदा पनि बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण सुल्झिएको छैन । बिहीबारको केही घटनाले यो प्रकरण अझै चर्कने देखिन्छ ।
बिहीबार सिंहदरबार गेटमा केही अधिकारकर्मीहरुले सो विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजिनामा माग गर्दै धर्ना दिएका छन् । सिंहदरबारको दक्षिण गेटमै पुगेर उनीहरुले गृहमन्त्रीविरुद्ध नारा लगाएका थिए । गृहमन्त्रीकै असक्षताले अभियुक्त .पत्त नलागेको उनीहरुको आरोप छ ।
उता त्यसको केही समयपछि सत्तारुढ नेकपा निकट बिद्यार्थी संगठनहरु गृह मन्त्रालय पुगे । उनीहरुले भने यसमा गृहमन्त्रीको दोष देखेनन्,बरु आइजिपी सर्बेन्द्र खनाललाई बर्खास्त गर्न माग गरेका छन् । खनालकै कारण अभियुक्त पक्राउ नपरेको उनीहरुको दाबी छ ।
अनेरास्ववियुकी अध्यक्ष नवीना लामा तथा अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित लामासहितको बिद्यार्थी नेतृत्वले मन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै आइजिपी खनाललाई हटाउन माग गरेका हुन् ।
यी दुई घटनाले यो प्रकरणमा राजीतिकरण भएको देखाउँछ । यही प्रकरणलाई उचालेर कोही गृहमन्त्री हटाउने त कोही आइजिपी हटाउने खेलमा छन् ।
तर, वास्तविकता के हो ने यो घटना सुल्झाउन गृह तथा प्रशासन असफल देखिएको छ ।
अनुसन्धानमा लापरबाही हुनु र त्यसपछि झन्डै डेढ महिनासम्म अनुसन्धान हुँदा पनि अभियुक्त नभेटिनुले गृह प्रशासन विवादमा पर्नु स्वभाविक हो ।