बनेपा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीव्र आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको समृद्धिका लागि सन्तुलित विकास अहिलेको आवश्यकता हो ।”
मन्त्री बाँस्कोटाले सन्तुलित विकासभित्र नै मानव जीवनको निरन्तरता र जीवन्तता जोड्ने बताउँदै त्यसका लागि पानीको समस्यालाई छिट्टै नै समाधान गर्ने धारणा व्यक्त गर्नुभयो ।
देशमा राजनीतिक व्यवस्थापन भएको र अब तीव्र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी आएको चर्चा गर्दै उहाँले देशले चाहेको संस्थागत परिवर्तनका लागि सम्पूर्ण सरकारी संयन्त्र, नीजि क्षेत्र, सहकारी क्षेत्र र वैदेशिक सम्बन्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री बाँस्कोटाले आर्थिक क्षेत्रको तीव्र विकासका लागि पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र(सेज) परियोजना एउटा उदाहरण भएको उल्लेख गर्दै यहाँ उत्पादित वस्तुको ७५ प्रतिशत निर्यात हुन्छ र त्यो सम्भव छ भन्नुभयो ।
देशलाई निर्यातमुखी बनाउनका लागि सेजको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले अरनिको राजमार्ग र विपी राजमार्गले जोडिएको जिल्ला भएकाले काभ्रे अब विस्तारित राजधानी हुने धारणा व्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले तीन वर्षभित्र पाँचखालमा सेज निर्माण हुने जानकारी दिदैं निर्वाचन, भूकम्पलगायत कारण समयमा काम हुन नसकेको बताउनुभयो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिराज भट्टले कार्यक्रमको अवस्था, सेजको आवश्यकता तथा त्यसबाट सरकार र निजी क्षेत्रलाई हुने सहयोगको बारेमा जोड दिनुभयो ।
पाँचखालमा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज) एक हजार हेक्टर क्षेत्रफलमा फैलिने र दुई अर्ब ९५ करोड २७ लाख १७ हजार लागत लाग्ने अनुमान गरिएको छ ।