काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ ।
गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र १८ सीटभन्दा कम क्षमता भएका माइक्रोबसलाई कारबाही गरिएको जानकारी दिनुभयो । “उपत्यकाका तीन दर्जन स्थानमा जाँच गर्दा उक्त सवारी कारबाही परेका हुन्,”– उहाँले भन्नुभयो ।
उहाँले आज समातिएका सवारी साधनलाई रु ५०० जरिवाना गरिएर छाडिएको बताउनुभयो । “एउटै सवारी साधनले पटकपटक गल्ती गरे रु तीन हजारसम्म जरिवाना गर्नेछौँ,”– उहाँले भन्नुभयो ।
गृहमन्त्री रामबहादुर थापाले बुधबार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको थियो ।
काठमाडौँ उपत्यकामा शुक्रबारदेखि नै तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । बढी यात्रु बोक्ने टेम्पो शुक्रबार र शनिबार ५८ वटालाई कारबाही गरिसकिएको महाशाखाले जनाएको छ ।
यसैगरी महाशाखाले आजै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ ।