भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते निधन हुनुभएका प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताउनु्भएको छ ।
लामिछानेको परिवारलाई प्रधानमन्त्री ओलीको तर्फबाट सान्त्वना दिन आज युवा संघ नेपालका तीन पूर्व अध्यक्ष अर्थात् नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यद्वय महेश बस्नेत र निरु पाल, प्रदेशसभा सदस्य राजीव पहारीलगायतका युवा टोली नगरकोटस्थित लामिछाने निवास पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सन्देश सुनाउँदै प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो, “हामीले प्रधानमन्त्रीलाई आजै भेटेर हरि गुरुको परिवारको अवस्थाबारे जानकारी गरायौँ, प्रधानमन्त्रीजीले सरकारको तर्फबाट हरिगुरुको परिवारलाई आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।
साथै, प्रदेश सरकारलाई पनि आर्थिक सहयोग गर्नका लागि सिफारिश गर्ने बताउनुभएको छ ।” बस्नेतले युवाबाट संकलन भएको रु एक लाख २० हजार लामिछानेको परिवारलाई हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिनुभयो ।
लामिछानेको परिवारलाई कूल रु सात लाख १२ हजार ८०५ आर्थिक सहयोग प्रदान गरिएको छ । बस्नेतसँगै नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले रु एक लाख, प्रधानमन्त्री केपी ओलीको परिवारको तर्फबाट प्रम पत्नी राधिका शाक्यले रु ५० हजार, एमाले चाँगुनारायण नगरपालिका ८ कमिटीले रु एक लाख ५४५, अनेमसंघ भक्तपुरले रु ८३ हजार २९० लगायत विभिन्न संघसंस्थाको तर्फबाट परिवारलाई नगद हस्तान्तरण गरिएको छ । आर्थिक सहयोगका लागि रकम संकलन गर्नेक्रम जारी रहेको बताइएको छ ।