काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताउनुभएको छ ।
विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण शुरु भइसकेको जानकारी दिँदै उहाँले रानीपोखरीको पनि विवाद छिट्टै अन्त्य गरी निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।
इतिहासविद् तुलसीराम वैद्य, प्राडा त्रिरत्न मानन्धर, शंकर थापा र सुरेन्द्र केसीले भूकम्पबाट ध्वस्त भएका सम्पदा अहिलेसम्म बन्न नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकबाट विभिन्न समयमा चोरी भई हराएका महत्वपूर्ण सम्पदा फिर्ता गर्न माग गर्नुभयो ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कानूनी जटिलताका कारण विभिन्न समयमा आउने समस्याले सम्पदा पुनःनिर्माणका कार्य अपेक्षाकृत रुपमा अगाडि बढाउन नसकिएको स्वीकार्नुभयो ।
नेपाल एयर एभिएसन म्युजियमका क्याप्टेन वेद उप्रती, अभियन्ता रवीन्द्र पुरी, नेपाल राष्ट्रिय जातीय सग्रहालयका महासचिव धनबहादुर कुँवर, सह–प्राध्यापक खड्ग केसी, पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालगायतले मुलुकको इतिहास, पर्यटन, संस्कृति र सम्पदाको महत्वका बारे विचार व्यक्त गर्दै यस क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।