चितवन, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
मन्त्री लामाले दुई चेपाङ र दाहालले शहीद परिवारका बालकको अभिभावकत्व ग्रहण गर्नुभएको हो । मन्त्री लामाले राप्ती नगरपालिका–१० स्वामिटार माविकी छ वर्षीया निशा चेपाङ र पाँच वर्षीय सुजन चेपाङलाई कक्षा १ मा भर्ना गराउनुभयो । सोही क्रममा उहाँले विद्यालय पोशाकसहित पाठ्यसामग्री सहयोग गर्दै आवश्यक सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रदेशमन्त्री लामाले बताउनुभयो ।
प्रदेश सदस्य दाहालले द्वन्द्वका क्रममा ज्यान गुमाएका रामबहादुर तामाङका १३ वर्षीय छोरा रमेशलाई पूर्वी चितवनको कालिका नगरपालिका–७ स्थित पृथ्वी माविमा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ । बालबालिकाको भर्ना गराउने सरकारी अभियानलाई सफल बनाउन शहीद परिवारको अभिभावकत्व ग्रहण गर्दै सोमबार पृथ्वी माविको कक्षा ६ मा भर्ना गरिएको तथा विद्यालय पोशाक, पाठ्यपुस्तकसमेत उपलब्ध गराउँदै हरेक वर्ष एक नयाँ विद्यार्थीको अभिभावक बन्ने प्रतिबद्धता जनाउनुभयो ।