राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्नुभएको छ, “सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्ने ज्ञातअज्ञात शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।

























