जनप्रतिनिधि आएपनि कञ्चनपुरको वनहरा नदी छेउको बगरमा झुपडी बनाएर बस्दै आएका सुकुम्बासी परिवारका दिन अझै फेरिएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका परिवारले भारतमा चौकीदार र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । युवा सबै भारतमा काम गर्छन् । बूढापाका, महिला र बालबालिका यहाँको दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदूरका रुपमा काम गर्दै आएका छन् ।
थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत सुकुम्बासी परिवारलाई हम्मे हम्मे छ । भारतमा गएका अधिकांश परिवारका युवा लामो समयसम्म नफर्केपछि बस्तीमा बस्दै आएकाहरु मजदूरी नपाउँदा कैयौँ रात भोकभोकै सुतेको दुःखेसो पोख्छन् ।
साँझ बिहान मजदूरी गरेर खाना खर्च जुटाउँदै आएका यी परिवारलाई बिहान खाना खाएर साँझ के खाने भन्ने चिन्ताले सँधै पिरोलिरहन्छ ।
बैतडीको सिगास गाविस ढुंगाड क्षेत्रबाट छ वर्षअघि कामको खोजीमा तराई झर्नुभएका मानध्व लुहार पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर काम गर्दै आउनुभएको थियो । उहाँका बुवाले समेत सोही बिँडो थाम्नुभएको थियो तर सरकारले हलिया मुक्त घोषणा गरेपछि मालिकको घरबाट खाली हात फर्किनुप¥यो ।
उनले भने, ‘त्यसपछि केही समय भारतको एक होटलमा भाँडा माझ्ने कार्य गरेँ पछि साथीभाइसँगै स्वदेशमै फर्केपछि घरवास नहुँदा नदीको बगरलाई वासस्थान बनाएर बस्नु परेको छ ।’ आफ्नो घर र जग्गासमेत नभएको गुनासो गर्दै उनले बिहान ६ बजेदेखि मजदूरी गरेर बेलुका झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको बताए ।
बाजुराबाट कामकै खोजीमा सात वर्षअघि कञ्चनपुर पुग्नुभएका मखी रावतसँगसमेत मानध्वजको जस्तै पीडा छ । ‘हामी पुर्खौंदेखिका सुकुम्बासी हौँ’ उनले भने, ‘अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ ।’ मालिककै जग्गामा घर बनाएर बसेका उनीहरुले मालिकले घरबाटै निकालेपछि खान र ओत लाग्ने ठाउँको खोजी गर्दै बगरमा बस्न बाध्यभएको दुखेसो पाखे ।
गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आएकी दमाईंका श्रीमान् दुवै आँखा नदेख्ने भएपछि उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उनले बताए ।
कमाइ गर्ने उमेरका दुई छोरा मजदूरीका लागि भारत पसेको दशकभन्दा बढी भइसक्यो कलाबतीले भने, ‘घर फर्केर नआएकाले नदी किनारबाट दाउरा संकलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर एकछाकको खाना खर्च जुटाउने गरिएको छ ।’ शिविरमै आश्रय लिएका मोहन सुनार अपाङ्ग हुनुहुन्छ । श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा थपिएको छ ।
दिनभरि गाउँगाउँ लट्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको सुनाउँदै उनले बालबालिकाकै लागि बाँच्नु परेको बताउँदै घर जग्गा नभएकाले नदीको बगर नै सबैथोक भएको सुनाए ।
शिविरमा झुपडी बनाएर बस्दै आएका एक दर्जनभन्दा बढी भूमिहीनका ४० भन्दा बढी बालबालिका समेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् ।
लत्ताकपडाको अभावमा रातभरि झुपडीमा आगो बालेर न्यानो पारेर रात काट्नु परेको गुनासो शिविरमा बस्दै आएका परिवारको छ । प्लास्टिकले छाएको झुपडीको छानाबाट रातभर पर्ने शीत झुपडीभित्रै तपतप चुहिने गरेकाले बिहानीपख भएका सबै कपडा भिज्ने गरेका छन् ।
वर्षातका बेला कुन बेला चुरे क्षेत्रमा पानी दर्किन्छ नदीले बगाएर लैजान्छ भन्ने चिन्तासमेत यहाँका बासिन्दालाई छ । चुरे क्षेत्रमा पानी पर्न थालेपछि अधिकांश परिवार बस्ती छाडेर सुरक्षित स्थानमा रुखमुनि ओत लाग्न जानु सामन्य भइसकेको सुकुम्बासीको हकहितका लागि काम गर्दै आएका रामबहादुर चुनाराले बताए ।
यहाँ बस्दै आएका भूमिहीन परिवारको एउटै माग छ ओत लाग्नका लागि घर, अन्न उब्जाउका लागि जग्गा र घर खर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था । – राजेन्द्रप्रसाद पनेरु