‘हरेक कुरा अब गोविन्द केसीलाई मात्र सोधेर काम गर्नुपर्छ । सरकारले केही कुराको निर्णय गर्नुभन्दा पहिले केसीसँग परामर्श गरेर मात्र अगाडि बढ्नुपर्छ । नत्र, फेरि केसी अनशन बसिहाल्छन् । चाहे पत्रकारिता गर्नुस्, चाहे यातायात सञ्चालन गर्नुस्, चाहे मेडिलक सञ्चालन गर्नुस्, खोल्नुभन्दा अगाडि गाोविन्दसँग स्वीकृति लिनुपर्ने यो कस्तो विडम्बना आइलाग्यो ? यो कस्तो परिपाटी हो ‘
झापाको विर्तामोडमा अवस्थित बिएण्डसी हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक दुर्गा प्रसाइँसँग वर्तमान मेडिकल कलेजको अवस्था र डा. गोविन्द केसीको जारी अनशनलाई लिएर मार्गदर्शनन्यूजले गरेको ताजा कुराकानी ।
बिएण्डसी अस्पताल सञ्चालनमा आएको कति भयो ?
यो अस्पताल २०७१ फागुन १८ गतेबाट सञ्चालनमा आएको हो । यो ९५० शैयाको अस्पताल हो । यो उपत्यका बाहिरका अस्पतालमध्ये सुविधा सम्पन्न अस्पतालमा पर्छ । यो सञ्चालनमा आएको करिब तीन वर्र्ष भयो ।
यो कुनै रोग विशेषको अस्पताल हो ?
अस्पतालहरु कुनै कुनै रोग विशेषको भनेर खोलिएका पनि धेरै छन् । जस्तै डाक्टर उपेन्द्र देवकोटाको न्यूरो, गंगालाल हृदय रोगका लागि खोलिएको हो । तर, बिएण्डसी चाहिँ सबै किसिमका रोगहरुको उपचार हुन्छ । सबै रोगका विशेषज्ञ डाक्टरहरु छन् । अन्य अस्पतालको तुलनामा उपचारमा प्रयोग हुने मिशनरी सामान पनि अत्याधुनिक प्रविधि र महँगो छ । जसले गर्दा विमारीले राम्रो उपचार पाउँछन् ।
प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कति जनाले रोजगारी पाएका छन् ?
यहाँ प्रत्यक्ष रुपमा ८ सय कर्मचारी छन् । करिब ४ करोड रुपैयाँ मासिक तलबमा जान्छ । अप्रत्यक्ष रुपमा ३ हजार जतिले फाइदा लिएका छन् । तर, हाम्रो राम्रो पक्ष भनेको एक नम्बर प्रदेशमा सबैभन्दा ठूलो र राम्रो शिक्षण अस्पताल भनेर चिन्छन् । यो एक नम्बर प्रदेशका लागि खुसीको कुरा हो ।
अब बन्ने सरकार नेपाली जनताको भारी मतबाट बनेको सरकार हुन्छ । जसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ । जनताको झण्डै दुई तिहाई जनादेश पाएको बाम गठबन्धनको सरकारले हामी जस्ता मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिने कुरामा कुनै शंका छैन । र, अब बन्ने सरकार देश र जनताको पक्षमा हुन्छ । यो देश बनाउन केपी शर्मा ओली र पुष्पकमल दाहाल जानुको विकल्प छैन ।
बिएण्डसीले कहिलेसम्ममा शिक्षण अस्पतालको सम्बन्धन पाउँछ त ?
हामीले लाइसेन्स लिदा नै शिक्षण अस्पतालका रुपमा लिएका हौं । सरकारले हामीलाई शिक्षण अस्पतालकै रुपमा लाइसेन्स प्रदान गरेको छ । शिक्षण अस्पताल हुनका लागि ३५ वटा सरकारले मापदण्ड तोकेको छ । ती सबै प्रक्रिया र मापदण्ड पु¥याएर नै हामीले लाइसेन्स लिएका हौ । त्यस कारण हाम्रो सम्बन्धन रोक्नुपर्ने कारण नै देखिँदैन । १५ वर्ष अगाडि खोलिएका अन्य मेडिकल कलेजले पनि ती मापदण्ड पूरा गरेको अवस्था छैन । तर, हामीले प्रक्रिया राम्रोसँग पूरा गरेका छौं । हामी राज्यको प्रक्रियामा चल्छौ । हाम्रो कलेज उत्कृष्ट छ । तर, डा. गोविन्द केसीको अनसनले चिकित्सा क्षेत्र धराशायी अवस्थामा पु-याएको छ । मेडिकल कलेज राज्यको मापदण्डले चलाउँने हो कि एउटा अनशन बस्ने ब्यक्तिले ? प्रश्न यहाँनेर हो ।
डा. गोविन्द केसीको आन्दोलनलाई कसरी लिनुभएको छ ?
गोविन्द केसीको आन्दोलन केका लागि हो, त्यो अहिलेसम्म पनि मैले बुझ्न नसकेको कुरा हो । केसीका पछाडि भीड त ठूलै लागेको छ । हिजो स्वामी राम रहिमको पछाडि पनि ठूलै भीड लागेका थिए । तर, आफ्नो गलत कर्तुतका कारण जेल गए । अब विस्तारै गोविन्द केसीको पनि सत्य–तथ्य बाहिर आउला नै । उनले अदालतलाई पनि सिध्याउने खेलमा लागे । अख्तियारलाई पनि सिध्याउने खेलमा लागे । राष्ट्रपतिलाई पनि चिकित्सा विधेयक पास नगरे अनशन बस्नु भन्दै महामहिमलाई समेत विवादमा तान्ने काम गरे । एउटा व्यक्तिले अनशन बस्छु भन्दैमा राज्यको नियमभन्दा माथि हुन् केसी ?। आज स्वास्थ्य क्षेत्र चल्नै नसक्ने अवस्थामा पु-याउँदैछन् । नेपालका सबै विद्यार्थीलाई विदेश पलायनको अवस्थामा पु¥याउँदैछन् । आफू पनि केही नगर्ने, अरुलाई पनि काम गर्न नदिने दुषित मानसिकताको उपज हुन् केसी ।
प्रक्रिया पु-याएर पनि बिएण्डसीले किन सम्बन्धन नपाएको त ?
त्यो त डा. गोविन्द केसीलाई नै सोध्नुपर्छ । हरेक कुरा अब गोविन्द केसीलाई मात्र सोधेर काम गर्नुपर्छ । सरकारले केही कुराको निर्णय गर्नुभन्दा पहिले केसीसँग परामर्श गरेर मात्र अगाडि बढ्नुपर्छ । नत्र, फेरि केसी अनशन बसिहाल्छन् । चाहे पत्रकारिता गर्नुस्, चाहे यातायात सञ्चालन गर्नुस्, चाहे मेडिलक सञ्चालन गर्नुस्, खोल्नुभन्दा अगाडि गाोविन्दसँग स्वीकृति लिनुपर्ने यो कस्तो विडम्बना आइलाग्यो ? यो कस्तो परिपाटी हो । मुलुकका लागि योभन्दा ठूलो दुर्दशा के हुनसक्छ ? सरकारले तोकेको सबै कानुनी प्रक्रिया पूरा गरेर अस्पताल खोल्दा केसी किन अनशन बस्नुपर्ने ?
नीजि क्षेत्रबाट खोलिएका मेडिकल कलेजविरुद्ध केसी किन खनिएका हुन् ?
किन र कसका लागि यसो गरिरहेका छन्, त्यो उनैले जानुन् । तर, उनले बिहे गरेका छैनन् भन्दैमा अरुले कसैले पनि बिहे नगरुन् भन्न मिल्छ ? अनशनको भरमा सबै प्रक्रिया रोक्न मिल्छ ?
बिएण्डसी र मनमोहनप्रति केसीको आक्रोश केका लागि त ?
मनमोहन एमाले सर्मथित भयो । बिएण्डसी माओवादी सर्मथित भयो भन्ने उनलाई लागेको होला । तर, यी जनतालाई सेवा गर्नका लागि स्वास्थ्य संस्था हो । म माओवादी हुँ, राजेन्द्र पाण्डे एमाले, गोविन्द केसी कांग्रेस तर व्यक्ति जेसुकै भएपनि अस्पताल सारा जनताको हो । यसमाथि खेडबाड गर्न पाइन्छ ? डा. केसीको पछाडि हिड्ने रविन्द्र मिश्र, जीवन क्षेत्री, अविशेषक सिंहलगायतलाई सरकारले छानविनको दायरामा ल्याउनुपर्छ अनि बल्ल सत्य–तथ्य आउँछ ।
अब बन्ने सरकारले बिएण्डसीलाई सम्बन्धन दिन्छ ?
अब बन्ने सरकार नेपाली जनताको भारी मतबाट बनेको सरकार हुन्छ । जसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ । जनताको झण्डै दुई तिहाई जनादेश पाएको बाम गठबन्धनको सरकारले हामी जस्ता मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिने कुरामा कुनै शंका छैन । र, अब बन्ने सरकार देश र जनताको पक्षमा हुन्छ । यो देश बनाउन केपी शर्मा ओली र पुष्पकमल दाहाल जानुको विकल्प छैन । त्यो देश र जनताको हितमा हुनेछ ।