इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा सञ्चालित ‘अन्तु कटेज’मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा शुक्रबार बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।
के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भन्नुभयो, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।’
आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले बताए । आगलागीबाट नौ लाख बढीको क्षति भएको सञ्चालक घिमिरेले बताए ।
आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् ।