विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर भाडा नबुझाउने दुईजना पक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडाँै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
काठमाडाँै पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन एक लाख पाँच हजार रकम दिने भनि तीनवटा कार सम्झौता गरेर भाडामा लिएका थिए ।
करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुईवटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा उनीहरुलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग ३५ लाख लिई रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा एक लाख दिने सहमतिमा लिई स्कर्पियो गाडी ल्याई काठमाडौँ हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा रु २९ लाखमा बिक्री गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।



















