झण्डै एक दशकअघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउनुहुन्छ ।
शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको उहाँले बताउनुभयो ।
बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उहाँको भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उहाँले भन्नुभयो, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । भट्टराई बालन नाचका पारखी हुनुहुन्छ । उहाँ नाच्न पनि उत्तिकै सिपालु हुनुहुन्छ । भन्नुहुन्छ, “सिक्छु भनेर कोही आउँदैनन्, कतै नाच भइगयो भने हेर्ने दर्शकको समेत अभाव हुन थालेको छ ।”
हिन्दू ग्रन्थहरू गीता, रामायण, देवी भगवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरु गर्दै रातभर बालन नाच्ने गरिन्छ । चारदेखि सात जोडी समूह बनाएर झ्याली, झयाम्टा र मजुरा बजाउँदै ४२७ चरणमा नाच सकिने गर्दछ । नाचिने घरका आँगन बीचमा एक खाँबो गाडिएको हुन्छ । उक्त खाँबोलाई मालिका भनिन्छ । मालिका वरिपरि घुम्दै रामायण, गीता, देवी भागवतका श्लोकका लयमा बाजागाजासँगै नाचिन्छ ।
पप, ¥याप र रकगीतमा युवायुवतीको मोह बढ्दै गएपछि पूर्वीय शास्त्रमा आधारित धार्मिक महत्वका शुभकार्यमा नाचिने बालन नाच गुमनाम हुँदै गएको छ, जसका कारण परम्परागत नाच तथा बाजागाजा किनारा लाग्दै गएका छन् ।
खासगरी खस र आर्य सम्प्रदायमा नाचिने बालनलाई सूचना प्रविधिसँगै भित्रिएको पश्चिमा संस्कृतिले विस्थापित गराएको हो । पुराण, ग्रहशान्ति, रूद्री–चण्डी पाठजस्ता शुभकार्यमा बालन नाचिने गरिन्थ्यो ।
केही दशकअघि सम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वमा अत्यन्त उत्साहका साथ गाउने नाच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहँदै आएको बालन हाल लोप हुन लागेको छ ।
पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा बालनका झलक देखाइने गरे पनि पुरानो पुस्ता नरहनु र नयाँ पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो । अझै पनि संरक्षण तथा संवद्र्धनका लागि नलाग्ने हो भने हाम्रो कला र संस्कृति एकादेशको कथा बन्ने निश्चित छ ।