काठमाडौं । विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ।
शुक्रबारदेखि सेवा सञ्चालनमा आएको कम्पनीले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको ११औँ बजारका रूपमा समेटेको जनाएको छ। साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले प्रवेश गरेको यो पहिलो नयाँ बजार पनि बनेको छ।
कम्पनीका अनुसार नेपालमा चारपाङ्ग्रे सवारीका लागि ‘उबर गो’ र ‘उबर कन्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीका लागि ‘बाइक’ सेवा उपलब्ध हुनेछ। यसबाट यात्रुले सहज, भरपर्दो र प्रविधिमैत्री यातायात सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
हाल ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको उबरले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय नेटवर्कसँग जोड्दै स्थानीय तथा विदेशी यात्रुलाई एउटै मोबाइल एपमार्फत सेवा उपलब्ध गराउने जनाएको छ।
उबरका एसिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलर ले तीव्र शहरीकरण, डिजिटल पहुँचको विस्तार तथा पर्यटन क्षेत्रको वृद्धिका कारण नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार बनेको बताए। उनले नेपालको पर्यटन र अर्थतन्त्रसँग सहकार्य गर्दै यात्रु, चालक तथा आगन्तुकको आवश्यकता पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।
स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्या, पर्यटन विस्तार तथा आधुनिक यातायात सेवाप्रतिको मागका कारण नेपालमा राइड–हेलिङ सेवाको सम्भावना उच्च रहेको कम्पनीको भनाइ छ। स्थानीय आवश्यकताअनुसार सेवा विस्तार गर्दै दीर्घकालीन रूपमा नेपाली बजारमा उपस्थित रहने लक्ष्य उबरले लिएको जनाएको छ।
उबर नेपालमा २०७४ साउन १ गते नै दर्ता भएको भए पनि कम्पनीले अहिलेबाट औपचारिक रूपमा सेवा सञ्चालन सुरु गरेको हो।




















