(सुशील दर्नाल)
रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढ्नुभयो । उहाँले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन ।
आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको रहेछ, खुशी लाग्यो”– उहाँले भन्नुभयो ।
विगत चार वर्षदेखि नयाँ बानेश्वरस्थित सडक विभाग नजिकै धर्ना बस्दै आउनुभएका सिन्धुलीका ८२ वर्षीय नारायणप्रसाद पोखरेलले साझा यातायातमा भाडा छुट दिएकोप्रति खुशी व्यक्त गर्नुभयो । पोखरेल नयाँ बानेश्वरबाट जडीबुटी जाँदा साझा यातायातले भाडा लिएन ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा साझा यातायातले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई काठमाडौँ उपत्यकाभित्र निःशुल्क यात्राको व्यवस्था गरेको साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको परिचयपत्र, अपाङ्गता भएका व्यक्ति (‘क’ र ‘ख’ वर्गमा पर्ने) दृष्टिविहीन (ह्वाइलचियरको प्रयोग गर्ने) लाई साझा यातायातको झाडामा छुट दिन सुरू गरिएको हो ।