नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय होइन । यो अलग विषय भएकाले संविधान संशोधनलाई अगाडि सारेर निर्वाचन बिथोल्ने काम गर्नु हुँदैन ।”
संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि सङ्ख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको सङ्ख्या थपघट तथा संविधान संशोधन गर्नुपर्ने भए पनि संसदीय निर्वाचनपछि संवैधानिक र कानुनी माध्ययमबाट पुनर्विचार गर्न सकिने एमालेको धारणा रहेको उहाँले बताउनुभयो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रह समेत गरेको छ ।
राजपाको आन्दोलनलाई देखाएर चार वटा प्रदेशको निर्वाचन सार्ने कार्य एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बैठकमा निर्णय भएको जानकारी दिँदै सचिव भट्टराईले असार १४ गतेकै निर्धारित मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।
राजपालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन र स्थानीय तहको सङ्ख्या निर्धारणका विषयमा बाहेक अन्य विषयमा लचिलो हुन एमाले तयार रहेको उहाँको भनाइ थियो ।
सचिव भट्टराईले भन्नुभयो– “राजपाले उठाएका सबै माग तत्काल पूरा हुन सक्दैनन् । कतिपय माग अहिले पूरा हुन्छन् । त्यही मागलाई लिएर आगामी १४ गतेको निर्वाचनमा भाग लिन एमाले बैठकले राजपालाई अपिल गरेको छ ।”
उहाँका अनुसार एमालेले आज साँझसम्ममा सबै प्रदेशको उम्मेदवारको टुङ्गो लगाउने छ ।
























