राष्ट्रपति विद्यादेवी भण्डारीले आम मतदाताको नाममा शनिबार एक सन्देश जारी गर्दै निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु ।’
‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गते भित्र सम्पन्न हुनुपर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुट्किलो भएकोले यसको आफ्नै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक सम्बृद्धिको ढोका खोल्ने छ भन्ने मलाइ विश्वास छ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।