काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत खुला सन्देश दिएका छन् । उनले गृहमन्त्री नियुक्त भएकोमा औपचारिक बधाइ नदिएको उल्लेख गर्दै सम्बोधनमा भने “माननीय गृहमन्त्री” का रूपमा सम्मान व्यक्त गरेका छन्।
साम्पाङले आफू प्रतिपक्ष दलको नेता भएकाले सरकारका कामकारबाहीबारे प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको बताएका छन्। उनले आफ्ना प्रश्नहरू व्यक्तिगत नभई पूर्ण रूपमा पदीय र कानुनी दायित्वसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।
साम्पाङले हालैको ‘जेन–जी आन्दोलन’ सन्दर्भमा २३ गते भएको घटनाका दोषीलाई पक्राउ गरेको भन्दै गृहमन्त्री गुरुङको प्रशंसा गरेका छन्। “गलत काम गर्नेहरूको सूची बनाएर कारवाही गर्नु सकारात्मक कदम हो,” उनले लेखेका छन्।
तर, उनले दुई महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। पहिलो, जेन–जी आन्दोलनकै २४ गते भएको घटनाका दोषीमाथि पनि कारवाही हुनुपर्ने उनको माग छ। दोस्रो, उनले जीबी राईलाई पक्राउ गरी “रवि दाइलाई न्याय दिन” आग्रह गरेका छन्।
यस्तै, साम्पाङले पोखराको फेवाताल क्षेत्रमा गृहमन्त्री गुरुङको नाममा २० रोपनी जग्गा रहेको भन्ने चर्चाबारे पनि स्पष्ट पार्न माग गरेका छन्। यस्तो विषयले नैतिकताको प्रश्न उठाएको भन्दै उनले पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिएका छन्।
“यस्ता प्रश्नको जवाफ नदिने हो भने जनतामा विश्वास घट्छ,” उनले चेतावनी दिएका छन्। साथै, उनले काम गर्ने क्रममा आलोचना आउनु स्वाभाविक भए पनि पारदर्शिता आवश्यक रहेको बताएका छन्।
साम्पाङले अन्त्यमा गृहमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदै भविष्यमा हृदयदेखि नै बधाइ दिने अवसर चाँडै आउने आशा व्यक्त गरेका छन्।




















