काठमाडौं । चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिनिभिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिनुभएको निर्देशन बमोजिम संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गरेका हुन्।
सो कार्यतालिका बमोजिम चैत २० गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ।
सोही दिन २:३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ। दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।



















