काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक लाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले पछिल्लो राजनीतिक घटनाक्रमप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी जितमा विभिन्न दृश्य र अदृश्य शक्तिहरूको भूमिका रहेको आरोप लगाए। उनका अनुसार नेपाली सेना, ब्युरोक्रेसी, विभिन्न आयोग र अन्तर्राष्ट्रिय संस्थाहरूले उक्त परिणाममा प्रभाव पारेका हुन्।
थापाले रास्वपाको विजयलाई “चामत्कारिक” भन्दै त्यसले असाधारण प्रश्नहरू जन्माएको बताए। उनले राज्यका प्रमुख संस्थाहरू—सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र बालुवाटार—लक्षित घटनाहरूबारे समेत छानबिन आवश्यक रहेको धारणा राखे।
यसै क्रममा उनले केही आन्दोलन र घटनाहरूमा योजनाबद्ध गतिविधि भएको दाबी गर्दै त्यसमा रास्वपाको संलग्नता रहेको आरोपसमेत लगाए। साथै, उनले राजनीतिक परिवर्तनका नाममा भइरहेका गतिविधिले राष्ट्रियता, लोकतन्त्र र संघीयतामा असर पार्न सक्ने चेतावनी दिए।
अन्त्यमा थापाले संसद्मार्फत प्रधानमन्त्रीलाई बधाई दिँदै समग्र घटनाक्रमप्रति गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।



















