काठमाडौं । तीन वटै तहका सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई मात्रै दिने सरकारको निर्णयको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । तीन वटै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन/प्रशारण गर्न पाइने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदले गरेको परिपत्रप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा जारी विज्ञप्तीमा कोरोना कहर, जेनजी आन्दोलनका कारण आर्थिक संकट व्यहोरिरहेका निजी सञ्चार माध्यमहरुलाई सरकारी विज्ञापन रोक लगाउने सचिवस्तरीय निर्णयप्रति असहमति र आपति प्रकट गरिएको छ ।
यो निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवि पत्रकारहरुको रोजीरोटी खोसिने र प्रेस सेन्सरसिपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर पर्ने महासंघले ठहर गरेको छ । संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, उद्धारवादी अर्थनीति, संघीयताको मर्म विपरितको निर्णय तत्काल फिर्ता लिन महासंघले माग गरेको छ । अन्यथा सरकारी निर्णय अस्वीकार गर्दै सञ्चार जगतको नेतृत्व साथ प्रतिवादमा उत्रिन वाध्य हुने समेत महासंघले जनाएको छ ।




















