काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि आफ्ना अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
राष्ट्रिय सभामा बोल्दै एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाए। उनले फागुन २१ को निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई बधाई दिँदै सरकारका कामहरूलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारे।
दंगालले ओली र लेखकलाई मध्यरातमा “आतङ्ककारीलाई जस्तै व्यवहार गर्दै” पक्राउ गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए। साथै, भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदनलाई मिथ्यांक र पूर्वाग्रहपूर्ण भन्दै खारेज गर्न माग गरेका छन् ।
एमालेले ओली र लेखकको बिना शर्त रिहाइ, मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने लगायतका माग अघि सारेको छ। साथै, गलत प्रतिवेदन ल्याएको आरोपमा आयोगका पदाधिकारीमाथि छानबिन र कारबाही गर्नुपर्ने पनि जनाएको छ।
सांसद दंगालले सरकारले दमनकारी नीति अपनाएको आरोप लगाउँदै देशभर एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमाथिको आक्रमणको समेत भर्त्सना गरेका छन् ।



















