चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार ९चैत १८० भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दासढुंगामा बुधबार अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक ईभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, दासढुंगामा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्यांकरलाई ठक्कर दिएको थियो ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ । घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ । दुर्घटनापछि बस र ट्यांकरका चालक फरार रहेका छन् ।
त्यसैगरी, बुधबारै घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०६–००१ ज ००९३ नम्बरको इभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन् ।
दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्र ९नम्बर ८८०’ का सदस्यहरू सवार थिए । सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एकजनाको अवस्था गम्भीर, नौजनाको मध्यम र तीन जनाको सामान्य रहेको छ । (रासस)




















