दार्चुला । दार्चुला जिल्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा मनिषा पाल र भरत तितरो को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रमुख गौरब महतले जानकारी दिएका छन्। दुवै जना जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत थिए।
उक्त टोली शैल्यशिखर–४ ओसिल क्षेत्रमा योजना अनुगमनका लागि गएको थियो। बिहान करिब ९ बजे दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा परी अकबर महर, विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मिनबहादुर पाल घाइते भएका छन्।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















