काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि सुरु हुँदैछ।
धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकका लागि पूर्णबहादुर खड्का–शेखर कोइराला समूहले तीन प्रमुख एजेन्डा तय गरेको छ।
बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा, पार्टीले प्राप्त गरेको परिणाम तथा १५ औं महाधिवेशनको कार्यतालिका र तयारीबारे छलफल हुने बताइएको छ।
यसअघि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी वैशाख अन्त्यतिर १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो। उक्त प्रस्ताव तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका थिए।
त्यस्तै, १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारीसमेत खड्काले गरेका छन्।



















