काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’
गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो। रास्वपाका सभापति रवि लामिछाने र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो। शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा शाहले शितल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ।
बालेनले आजै मन्त्रिमण्डल गठन गर्दैछन्। पार्टी सभापति लामिछानेले यसअघि नै सार्वजनिकरुपमा अर्थमन्त्रीमा उपसभापति डा. स्वर्णिम वाग्लेको नाम प्रस्ताव गरिसकेका छन्। शपथ ग्रहणपछि प्रधानमन्त्रीको सिंहदरबारमा पदबहाली करिब २:१५ बजे हुने व्यवस्था मिलाइएको छ। पार्टीले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ।





















