काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम निर्माण गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम बनाएका हुन् ।
जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले बालेनलाई साथ दिँदै आएका छन् । उनी निरन्तर सल्लाहकार बनेर बालेनलाई सघाउँदै आएका छन् । बेनसँग हरेक रणनीति बनाउने कौसल भएकाले बालेनले निकै विश्वास गर्ने पात्रमध्ये भएको बताइन्छ ।
यस्तै, प्रधानमन्त्री बालेनको राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन् । असिमले रवि लामिछाने जेलबाट छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग बालेन समूहको एकता गराउन भूमिका खेलेका थिए ।
रास्वपा सभापति लामिछाने र बालेनलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए । असिमको समेत पहलमा मध्यरातसम्म छलफल गरेर रवि र बालेनबीच ७ बुँदे सहमति भएको थियो ।
त्यही सहमतिका आधारमा बालेन समूहले रास्वपासँग एकता गरेको थियो । रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा होमिएको थियो । असिम अघिल्लो पटक रास्वपाबाट समानुपातिक सांसद थिए ।
यसैगरी, प्रधानमन्त्री बालेनको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ ।
सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् । प्रधानमन्त्रीको टिमका एक सदस्यका अनुसार बाँकी सल्लाहकार केही दिनमै नियुक्त गर्ने तयारी छ ।
यस्तै, अर्जुन घिमिरे, भूपदेव शाह, मेयर हुँदा सचिवालयमा रहेका सुरेन्द्र बजगाईंलगायत मिडियाको टोली प्रधानमन्त्री शाहसँगै निरन्तरत छ । उनीहरूको जिम्मेवारी बारेमा आइतबारसम्म निर्णय हुने जनाइएको छ ।
यसैगरी, प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन् ।
त्यस्तै, प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ ।
प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका छन् ।



















