भक्तपुर । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारद्वारा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त निर्णय कुटिल र षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै यसले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने बताएका छन् ।
बस्नेतले सरकारको निर्णयमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर राजनीतिक व्यक्तिहरूको हकमा सीधै कारबाही अघि बढाउने भनिएको विषयलाई पक्षपाती कदमको रूपमा व्याख्या गरेका छन् ।
उनले न्याय सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै कुनै पनि पक्षपाती निर्णय स्वीकार्य नहुने र त्यस्तो अवस्थामा सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने आवश्यकता औंल्याउँदै बिना निष्पक्ष छानबिन गरिने कुनै पनि कदम पूर्वाग्रहपूर्ण हुने धारणा राखेका छन् ।



















