काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने दल तथा समूहलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
आइतबार कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेको नेतृत्वमा गएको टोलीले आयोग पुगेर आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।
चालिसेका अनुसार केही राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको र चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई समेत सहभागी गराइएको पाइएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार अभियानमा ‘घण्टी’ चिन्ह प्रयोग भइरहेको गुनासो आएपछि आयोगले केही दिनअघि भौतिक चुनाव चिन्ह प्रदर्शन नगर्न आग्रह गरिसकेको थियो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार–प्रसार गरिरहेको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको जनाएको छ।
चालिसेले निर्वाचन स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए।
त्यस्तै, राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी आयोगको निर्देशनविपरीत दुरुपयोग भइरहेको र मिथ्या सूचना फैलाएर सामाजिक सञ्जालमार्फत जनमतलाई प्रभावित पार्ने प्रयास भइरहेको विषय पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। कांग्रेसले यस्ता गतिविधि तत्काल रोक्न र दोषीलाई कारबाही गर्न आयोगसँग माग गरेको छ।




















