काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन्।
नवलपरासी बर्दघाटको चौपतामा आयोजित चुनावी सभामार्फत ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्। उनले ‘कागजी बाघ’ रास्वपा छोडेर ‘असली बाघ’ कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन्।
रास्वपाका संस्थापक जिल्ला सभापतिसमेत रहेका ठकुरी पछिल्लो समय टिकट वितरणप्रति असन्तुष्ट थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले १२ हजार ४९९ मत प्राप्त गरेका थिए।
चुनावको मुखमै ठकुरी कांग्रेस प्रवेश गरेपछि रास्वपालाई राजनीतिक रूपमा धक्का पुगेको विश्लेषण गरिएको छ। रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी थप असन्तुष्ट बनेका थिए।
यसअघि सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिनअघि रास्वपा परित्याग गरेका थिए। ठकुरीको कांग्रेस प्रवेशसँगै नवलपरासीको स्थानीय राजनीतिक समीकरणमा फेरबदल आउने संकेत देखिएको छ।




















