काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सिंगापुर उडेका हुन्। उनीसँग केही सहयोगीसमेत सिंगापुर गएका छन्।
पार्टीको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ समिति बनेपछि देउवा सक्रिय राजनीतिक भूमिकाबाट टाढा रहेका थिए। जेनजी आन्दोलनका क्रममा उनीमाथि कुटपिटसमेत भएको थियो, जसपछि उपचारका लागि यसअघि पनि सिंगापुर पुगेका थिए।
विशेष महाधिवेशनपछि सभापति पद गुमाएसँगै देउवा स्तब्ध बनेको बताइन्छ। निर्वाचन आयोगले आधिकारिकता नदिएपछि उनी विचलित भएका थिए भने सर्वोच्च अदालतबाट पनि अन्तरिम आदेश नआएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास सफल हुन सकेन। टिकट नपाएपछि उनी निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए।
पार्टीका उम्मेदवार जिताउन अपिल गर्न आग्रह भए पनि देउवाले सहमति जनाएनन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवालाई अभियानमा समेट्ने प्रयास भइरहेको बताएका थिए, तर देउवाको सचिवालयले कसैसँग भेटघाट वा प्रचारमा जाने सम्भावना नरहेको स्पष्ट पारेको थियो।
२०४८ सालदेखि डडेलधुराबाट लगातार सातपटक निर्वाचित देउवा अन्तिमपटक उम्मेदवार बन्न नपाएपछि घरमै सीमित भएका थिए। उनको स्थानमा नैनसिंह महरले टिकट पाएसँगै कांग्रेसको स्थानीय राजनीतिमा नयाँ समीकरण बनेको छ।



















