पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन्। राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्।
राईले फेसबुकमा लेखेका छन्, “राजनीति भनेको सोझो र इमान्दारीले गर्ने काम होइन रहेछ। आजबाट राजनीति र पार्टीका लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खर्च नगर्ने निर्णय गरेको छु। अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु।”
यसअघि पनि उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु आफ्नै टाउकोमा ऋण बोक्नुजस्तै भएको टिप्पणी गर्दै स्टाटस लेखेका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए। उक्त क्षेत्रमा एमालेका मनबहादुर गुरुङले २५ हजार ७०८ मतसहित जित हासिल गरेका थिए भने कांग्रेसका किशोर दत्त बराल २३ हजार १८९ मतसहित दोस्रो भएका थिए। राई तेस्रो स्थानमा सीमित भएका थिए।
पछिल्लो निर्वाचनमा करिब १० हजार मत ल्याएका राईलाई यसपटक टिकट नदिई रास्वपाले स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’ चलाउँदै लौरो चिन्हबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका खडकराज पौडेललाई उम्मेदवार बनाएको थियो। पौडेललाई टिकट दिएपछि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए।
टिकट वितरणमा आर्थिक चलखेल भएको आरोपसहित पछिल्लो समय दर्जनभन्दा बढी नेताहरूले रास्वपा परित्याग गरिसकेको बताइएको छ।




















