काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग बहस गर्न पार्टी सभापति गगन थापालाई दमकमै पठाउन तयार रहेको बताएका छन्।
नेपाल प्रेस युनियन झापाले झापाको धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्रीका प्रस्तावित दुई नेताहरू झापामै रहेकाले कांग्रेसले पनि आफ्ना सभापतिलाई उतै पठाउन तयार रहेको बताए।
उनले भने, “प्रधानमन्त्रीका प्रस्तावित दुई नेतासँग म सल्लाह गर्न आग्रह गर्छु। तपाईंहरू दमकमै हुनुहुन्छ, त्यसैले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई कहिले दमक पठाऊँ? जुन दिन, जुन समय तपाईंहरूले तोक्नुहुन्छ, त्यही समयमा झापाली र राष्ट्रिय मिडियाको उपस्थितिमा लाइभ बहस गरौँ।”
शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान बनाउन नहुने उल्लेख गरे। मतदाताले पनि आफ्नो मत झोक र रिसमा नभई विवेकपूर्वक व्यक्त गर्नुपर्ने उनको भनाइ छ।




















