रुपन्देही । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा समाहित भएका छन्। तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा वडाध्यक्ष निर्वाचित सुनिल शाक्यसहितका युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन्।
विभिन्न कम्युनिस्ट दलमा आबद्ध युवा नेताहरू पौडेललाई विजयी गराउने अभियानमा सहभागी भएको जनाइएको छ। एमालेका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा वडाध्यक्ष शाक्यसहित शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन गौतम र धनसिंह खाम्चाललगायत युवा नेताहरू पौडेललाई साथ दिन तयार भएका हुन्।
उनीहरूले यस क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र भविष्यको प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले समर्थन गरेको बताएका छन्।
एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरूको प्रतिनिधिमूलक भेला आयोजना गरी उनीहरूलाई अभियानमा सहभागी गराएको जानकारी दिए। उनका अनुसार, यस अभियानमार्फत कम्तीमा ५ सय युवा नेकपा एमाले मा जोडिने दाबी गरिएको छ।
युवाहरूको प्रवेशसँगै रुपन्देही क्षेत्र नम्बर २ मा पौडेलको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै राजु गुरुङले सामाजिक सञ्जालका भ्रममा नपरी फराकिलो जितका लागि मेहनत गर्न युवालाई निर्देशन दिएका छन्। एमाले परिवारसँग पुनर्मिलन र युवाको साथले आफू थप उत्साहित भएको उम्मेदवार पौडेलले बताएका छन्। आइतबार राति उनले ती युवालाई पार्टीमा स्वागत गरेको तस्बिर सार्वजनिक गरेका छन्।




















