वुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि भएको संघर्षका बेला बालेन्द्र शाह कहाँ थिए भन्दै प्रश्न उठाएका छन्। उनले मधेशका मुद्दामा बालेनको स्पष्ट धारणा नदेखिएको टिप्पणी गरे।
जनता समाजवादी पार्टी नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, “राष्ट्रिय राजनीतिमा पनि बालेनको धारणा सुनिँदैन। वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन।”
मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग र राष्ट्रिय समस्यालाई प्रतिनिधित्व गर्ने पार्टी जसपा नेपाल नै भएको उनको दाबी छ। उनले भने, “मधेशका जनताले यी कुरा राम्ररी बुझेका छन्। त्यसैले घण्टी हल्लाउँदैमा जनमत हल्लिनेवाला छैन। सामाजिक सञ्जालमा घण्टी बढी बजेजस्तो देखिए पनि ग्राउन्ड रियालिटी त्यस्तो छैन।”
यादवले मधेश, आदिवासी जनजाति, दलित, अल्पसंख्यक मुस्लिम, थारू र पिछडावर्गका समस्या अहिले राष्ट्रिय समस्या बनेको उल्लेख गर्दै यी विषय समाधान भए मात्र राष्ट्रिय एकता बलियो हुने र विकासको गति अगाडि बढ्ने बताए।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले विगत ३५ वर्षमा कांग्रेस–कम्युनिस्ट नेतृत्वका सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्योगजस्ता क्षेत्रमा उल्लेखनीय सुधार गर्न नसकेको आरोप लगाए। उनले ती दलहरूले एकअर्काको पार्टी फुटाउने राजनीतिमा ध्यान दिएको आरोपसमेत लगाए। साथै, संविधान त्रुटिपूर्ण रहेको कुरा समयक्रमसँगै प्रमाणित भइसकेकाले संशोधन अपरिहार्य भएकोमा जोड दिए।
यसैबीच, पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला ले मधेश आन्दोलनका बेला राज्यबाट निर्दोष नागरिकको हत्या हुँदा पनि आफूहरू संयमित रूपमा आन्दोलन अगाडि बढाएको बताए।
उनले भने, “राज्यको अर्थतन्त्र जोगाउन सकेनौं भने भोलि त्यसको असर हामी सबैले भोग्नुपर्छ भन्ने कुरामा हामी सधैं सजग छौं।” अध्यक्ष यादव मंगलबार कोटहीमाई गाउँपालिका–७ परसहवामा आयोजना हुने आमसभालाई सम्बोधन गर्न रुपन्देही आएका हुन्।




















