काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा कसैलाई पनि बुथ कब्जा गर्न नदिइने बताएका छन्।
सोमबार झापाको दमकमा आयोजित कोशी प्रदेशस्तरीय ‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जाको प्रयास सह्य नहुने स्पष्ट पारे।
उनले भने, “कसैले बुथ कब्जा गर्छु भनेर कल्पना गरे पनि त्यो पूरा हुँदैन । बुथ कब्जा गर्ने छुट कसैलाई दिइने छैन।”
ओलीका अनुसार बुथ कब्जा हुन नदिने उद्देश्यका लागि ‘भोलिन्टियर्स फोर्स’ गठन गरिएको हो। उनले हरेक बुथमा भोलिन्टियर्स खटाइने जानकारी दिँदै देशभरका प्रत्येक बुथमा कम्तीमा ३० जना परिचालन गर्न निर्देशन दिएका छन्।
उनले भोलिन्टियर्स फोर्सले प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्ने बताए ।




















