काठमाडौं । उदयपुरमा बस दुर्घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको हो।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भएर सडकबाट करिब ३०–४० फिट तल खस्दा दुर्घटना भएको नेपाल प्रहरी ले जनाएको छ।
दुर्घटनामा करिब एक दर्जन यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार कार्य भइरहेको छ भने उनीहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा प्रहरी टोली परिचालित रहेको छ।
आज विहान मात्रै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । आइतबार साँझ पोखराबाट काठमाडौँका लागि छुटेको ग।२ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो।
दुर्घटनामा घाइते भएकाहरुको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतकको अझै सनाखत हुन सकेको छैन।




















